‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’मा नेपाल र भारतका साहित्यकारहरू
२९ आश्विन २०७९, शनिबार
काठमाडाैँ । राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ ।
महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । “भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ”,उपकुलपति गुरुङले बताउनुभयो ।
महोत्सवमा सहभागी हुन भारतबाट आउनुभएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पु¥याइरहेको क्षतिको चर्चा गर्नुभयो । “ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ”, कवि वाजपेयीले भन्नुभयो ।
महोत्सव निर्देशक रञ्जना निरौलाले नेपाल भारतको साहित्य तथा संस्कृति आदनप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले संस्कृतबाट आएको नेपाली र हिन्दी भाषालाई संरक्षण गर्नको लागि यसपटकबाट नेपालमा साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति, भाषा र साहित्यबारे बहसको थालनी गरेको बताउनुभयो ।
समारोहमा यसैवर्षबाट सुरु भएको यशस्वी साहित्य सम्मानबाट नेपालबाट वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी र भारतबाट कवि अशोक वाजपेयीलाई जनही रु. ५० हजार सहित सम्मान गरिएको छ । शताब्दीपुरुष जोशी अस्वस्थताको कारण समारोहमा उपस्थित हुन सक्नुभएन ।
यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा महोत्सवमा कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षित र कवि दिनेश अधिकारी सहित दुईसयको सहभागी रहेको आयोजकले जनाएको छ ।
Comments