माघीमा राष्ट्रपतिको शुभकामनामा सदभाव र बृहत राष्ट्रिय एकतामा जोड
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।
यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।’
मगर, थारु र छन्त्याललगायतका आदिवासी जनजाति समुदायको सांस्कृतिक चाड एवं नेपालीको महत्वपूर्ण चाड माघेसङ्क्रान्ति/माघेसङ्क्रान्ति/माघी पर्व–२०७७ को अवसरमा मगर, थारु र छन्त्याल समुदायलाई शुभकामना दिँदै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको स्मरण गरेका छन् ।
Comments