कोपिला!
कोपिला भनेको के हो ?
सजिलाेसँग काेपिला कसरी लेख्ने ?
कोपिला २०७७ साल बैशाख १ गतेबाट नेपालकै माटोमा जन्माएर शुरूवात गरिएको छोटो कविता बिधा हो।
काेपिलामा दुईवटा पातहरुकाे बिचमा मुना रहेकाे हुन्छ। पहिलाे हरफ माथिल्लाे पात हाे र तेश्राे हरफ तल्लाे पात हाे । बिचकाे हरफ मुना हाे । मुनामा काेपिलाकाे मूल भाव रहेकाेहुन्छ र पातहरुले त्याे मूलभावलाई स्पष्ट पार्ने, समर्थन वा विराेध गर्ने, उपमा दिने, व्यङ्ग्य गर्ने, रस भर्ने अादि कार्य गर्दछन् । मुना स्वतन्त्र हरफ हाे र पातहरु अनुप्रास र स्थायीयुक्त सरस हरफहरु हुन् । मुना र पातकाे बिचमा भावगत घनिष्टता हुन्छ ।
सजिलाेसँग काेपिला लेख्ने हाे भने सबैभन्दा पहिले मुना लेख्नुपर्छ । शुरुमा अाफूलाई घत परेकाे कुनै पनि विषयलाई १०/१२ अक्षरमा कवितात्मक रुपमा मुना बनाउनुपर्छ । त्यसपछि त्याे विषयलाई समर्थन वा विराेध वा व्यङ्ग्य वा उदाहरण वा रस के दिने हाे साेही अनुसार २ वटा ८/१० अक्षरका अनुप्रास र स्थायीयुक्त पातहरु लेख्नुपर्छ । ती पातहरुमध्ये एउटालाई मुनाभन्दाअगाडि र अर्काेलाई पछाडि राखेपछि काेपिला तयार हुन्छ ।
जस्तै विहान उठ्नासाथ झ्यालबाट बाहिर हेर्दा पर डाँडामा घाम उदाएकाे देख्नुभयाे र हजुरलाई अाफू अल्छी भएकाे महशुश भयाे । यसै विषयमा काेपिला लेख्न सकिन्छ । पहिला यसकाे मुना लेख्नुहाेस् । मानाैँ हजुरले यस्ताे साेच्नुभयाे - घाम उदाइसकेछ, कति अल्छी भएछु । यसैलाई अलिकति कवितात्मक बनाएर यसरी मुना लेख्नुस्।
अाज पनि म अल्छीमा दरिएँ
याे ११ अक्षरकाे मुना बन्याे । अब काेपिला पूरा गर्न २ वटा अनुप्रास र स्थायीयुक्त पातहरु लेख्नुपर्छ । हजुरलाई मुनाकाे समर्थन गर्ने पातहरु लेख्न मन लाग्याेभने यसरी लेख्न सक्नुहुन्छ।
रवि टाँगामा चढिसकेछन्
चरी हाँगामा चढिसकेछन्
यी प्रत्येक पातमा १० अक्षर छन् । यहाँ "टाँगामा" र "हाँगामा" अनुप्रास हुन् र दुबै पातकाे अन्तमा अाएकाे "चढिसकेछन्" स्थायी हाे ।
अब पातहरु र मुनालाई यसरी मिलाएर राख्नुस्-
रवि टाँगामा चढिसकेछन्
अाज पनि म अल्छीमा दरिएँ
चरी हाँगामा चढिसकेछन्
हेर्नुस् त कति मिठाे काेपिला तयार भयाे।
त्यस्तै हजुरले कुनै फूल फुलेकाे देख्नुभयाे र त्यसकाे अनुभूति गर्नुभयाे भयाे भने भन्नुहुन्छ कि - अाहा ! कति राम्राे फूल । यसैलाई मुना बनाउनुस्।
अाहा ! कति सुन्दर छन् फूलहरु
याे १० अक्षरकाे मुना बन्याे । अब यसलाई सिँगार्ने पातहरु लेख्नुस् । जस्तै यस्ताे लेख्नुभयाे -
टिपुँटिपुँ मन भयाे
जति हेर्याे झन् भयाे
यी ७ अक्षरका पातहरु भए । यिनमा "मन" र "झन्" अनुप्रास भए, "भयाे" स्थायी भयाे । अब पात-मुना- पात मिलाएर लेख्नुस्-
टिपुँटिपुँ मन भयाे
अाहा ! कति सुन्दर छन् फूलहरु
जति हेर्याे झन् भयाे
हेर्नुस् त कति सजिलै अर्काे काेपिला तयार भयाे।
यसैगरी जुनसुकै विषय, भाव, घटना, कल्पना, चिन्तन अादिमा पनि सजिलै काेपिला लेख्न सकिन्छ । जस्तै हजुरलाई राजनीतिसँग रिस उठ्याे र हजुरकाे मनमा यस्ताे भाव अायाे - याे राजनीति हाे कि विकृति हाे ? अब यसैलाई अर्काे मुना बनाउनुस् -
याे राजनीति पनि विकृति हाे कि
याे १२ अक्षरकाे मुना बन्याे । अब यसलाई व्यङ्ग्य गर्ने २ वटा पातहरु लेख्नुस् । जस्तै यस्ताे लेख्नुभयाे -
नेतैमात्र माेटाउँछन् कति
जनतालाई लाेटाउँछन् कति
यी भए १० अक्षरका पातहरु । यहाँ "माेटाउँछन्" र "लाेटाउँछन्" अनुप्रास हुन् र "कति" स्थायी हाे । अब पात- मुना - पात मिलाउनुस् -
नेतैमात्र माेटाउँछन् कति
याे राजनीति पनि विकृति हाे कि
जनतालाई लाेटाउँछन् कति
अर्काे काेपिला तयार भयाे।
अब अर्काे प्रयाश गराैँ।
मानाैँ हजुरलाई फुटपाथमा लडिरहेका अनाथ बालक देखेर दया अायाे र मनमा यस्ताे भाव अायाे - याे धरामा सबैकाे समान अधिकार छैन र ? हाे , यसैलाई मुना बनाएर लेख्नुस् -
याे धरामा सबैकाे अधिकार समान किन छैन
याे १६ अक्षरकाे मुना बन्याे । १८ अक्षरसम्मकाे मुना बनाउन पाइन्छ । अब यसै मुनामा करुण रसका २ वटा पातहरु लेख्नुस् । मानाैँ हजुरले यस्ताे लेख्नुभयाे -
यी अनाथहरुका नाथ कहाँ गए खै
काे दिन्छ यिनलाई साथ कहाँ गए खै
यी १२ अक्षरका पातहरु भए । "नाथ" र "साथ" अनुप्रासकाे रुपमा अाएकाछन्, "कहाँ गए खै" स्थायीकाे रुपमा प्रयाेग भएकाेछ । मिलाएर राख्दा यस्ताे बन्छ -
यी अनाथहरुका नाथ कहाँ गए खै
याे धरामा सबैकाे अधिकार समान किन छैन
काे दिन्छ यिनलाई साथ कहाँ गए खै
अर्काे खास्साकाे काेपिला बनेन त ?
यसरी सजिलै बन्छन् काेपिलाहरु । लेख्नकाे बेरमात्र हाे, काेपिला बन्न बेर लाग्दैन । अर्काे पनि प्रयाश गराैँ । याे काेराेनाकाे कहरमा हजुरलाई दिक्क लागेकाे हुनसक्छ र यस्ताे भाव फुर्नसक्छ - याे काेराेना किन अझै जाँदैन ?
यही ११ अक्षरकाे मुना भयाे । अब पातहरु लेख्नुस् । जस्तै हजुरले यस्ताे लेख्नुभयाे -
महिनाहरु गए याम गयाे
गरिखानेहरुकाे काम गयाे
यी भए १० अक्षरका पातहरु । मुनाभन्दा पातहरु मुनाकाे लम्बाइसुहाउँदाे १ देखि ५ अक्षरसम्म छाेटा हुनुपर्छ । यहाँ "याम" र "काम" अनुप्रास भए "गयाे" स्थायी भयाे । अब मिलाएर लेख्नुस् -
महिनाहरु गए याम गयाे
याे काेराेना किन अझै जाँदैन
गरिखानेहरुकाे काम गयाे
बनेन त गज्जबकाे काेपिला?
अर्काे रमाइलाे कुरा पनि हजुरलाई भन्छु । माथि लेखिएका कुनै पनि काेपिलामा पातहरु उल्टाेपाल्टाे गरेर राखिहेर्नुस् त के हुन्छ । काेपिलाकाे भाव र शाैन्दर्यमा कुनै परिवर्तन अाउँदैन । याे खासियत केवल काेपिलामा मात्र पाइन्छ । अहिल्यै काेपिला लेख्न शुरु गरिहाल्नुस् ।
*काेपिलाका अाधारभूत सिद्धान्तहरु:
१. काेपिला एउटा छाेटाे माैलिक नेपाली सरल कविता विधा हाे।
२. काेपिलाकाे संरचनामा तीन हरफहरु हुन्छन् । पहिलाे र तेश्राे हरफहरुलाई पातहरु भनिन्छ । यिनीहरुलाई क्रमश: माथिल्लाे पात र तल्लाे पात भनिन्छ र यिनीहरु एक अर्काे स्थानमा स्थानान्तरण हुनसक्छन् । दाेश्राे हरफलाई मुना भनिन्छ।
३. पातहरुमा अनुप्रास र स्थायीकाे प्रयाेग हुन्छ भने मुनामा अनुप्रास र स्थायीकाे प्रयाेग हुँदैन।
उदाहरण-१
चहर्याएकाे घाउ यता छ (पात)
सुन्छु उता मन्दिरमा छ्याै रे तिमी (मुना)
डुब्न लागेकाे नाउ यता छ (पात)
गिरिराज डल्लाकोटी (चितवन)
उदाहरण-२
पात पातमा प्रगति छ (पात)
पौरखी चिन्तनका धराहरूमा (मुना)
हात हातमा प्रगति छ (पात)
कविता केशरी (विराटनगर)
उदाहरण-३
मानवता हराएको छ (पात)
अभद्र ब्यबहार हुने गदर्छ दिनदिनै (मुना)
मन त्यसै डराएको छ (पात)
बासु सापकोटा (दोलखा)
अनुप्रास भनेकाे अन्य कविता विधाहरुमा प्रयाेग हुनेजस्तै अनुप्रास हाे भने स्थायी भनेकाे अनुप्रासभन्दा पछि अाउने वा अनप्रासमा समास भएकाे शब्द वा हब्दहरु बुझिन्छ । मुना स्वतन्त्र शब्दहरुमा लेखिन्छ।
४. काेपिलाकाे मूलभाव मुनामा रहेकाे हुन्छ भने पातहरुले मूलभावलाई सिङ्गार्ने, पुष्टि गर्ने, रस थप्ने, उपमा दिने, बिम्ब सम्प्रेषण गर्ने, व्यङ्ग्य गर्ने अादि कार्य गर्दछन् । पातहरु र मुनाकाे बिचमा घनिष्ठ सम्बन्ध हुन्छ।
५. काेपिलाकाे संरचनामा दुबै पातहरु बराबर लम्बाइका हुन्छन भने मुना पातहरुभन्दा १ देखि ५ अक्षरसम्म लामाे हुन्छ।
६. पातहरुमा ३ देखि १५ सम्म अक्षरहरु राख्न सकिन्छ भने मुनामा ४ देखि १८ सम्म अक्षरहरु राख्न सकिन्छ।
७. काेपिलामा अक्षर गणना गर्दा उच्चारणअनुसार गरिन्छ। अथवा लेखाइका अाधारमा हैन कि वाचन तथा गायनका अाधारमा गणना गरिन्छ।
८. काेपिलामा पातहरुकाे अन्तिम स्वरमा असंगति हुनुपर्छ । अथवा पातहरुकाेभन्दा मुनाकाे अन्तिम स्वर भिन्न हुनुपर्छ।
९. काेपिलामा चिन्हहरुकाे प्रयाेग स्वतन्त्र हुन्छ।
१०. काेपिला लेख्दा वा छाप्दा पातहरुभन्दा मुना लामाे देखिनेगरी लेखिन्छ, छापिन्छ।
११. काेपिला वाचन गर्दा मूलभाव उजागर गर्नकालागि शुरुमा मुना, पात र पात वाचन गरिन्छ र पछि पात, मुना र पात वाचन गरिन्छ । पात, मुना र पातकाे वाचन गर्दा माथिल्लाे वा तल्लाे जुनसुकै पातबाट पनि शुरु गर्न सकिन्छ।
१२. काेपिला नेपाली साहित्यिक धरातलमा सिर्जना भएकाे विधा भए पनि याे जुनसुकै भाषामा पनि सजिलै लेख्न सकिन्छ।
१३. नेपाली भाषामा लेखिएकाे काेपिलामा सकेसम्म ठेट नेपाली शब्दहरुकाे प्रयाेग गरिन्छ । लाेपाेन्मुख नेपाली शब्दहरुलाई यसै विधामार्फत संरक्षण गर्न सकिन्छ । विशेष परिस्थितिमा यसमा कथ्यभाषाका शब्दहरु पनि प्रयाेग गर्न सकिन्छ।
१४. काेपिला सर्जकलाई माली भनिन्छ । माली पुरुष भए पुरुष नै र महिला भए प्रकृति भनिन्छ।
१५. पाँच वटा काेपिलाकाे समूहलाई डाली भनिन्छ । दसवटा डालीकाे समूहलाई बाेट भनिन्छ । बाह्रवटा बाेटकाे समूहलाई बगैंचा भनिन्छ।
१६. काेपिला लेख्दा डाली र काेपिलाकाे संख्या दिई लेखिन्छ ।
*काेपिलामा अनुप्रास र स्थायीबारे केही कुरा:
काेपिलामा स्थायीकाे प्रयाेग र अावश्यकताका विषयमा केही प्रश्नहरु र केही असहजताहरु देखिएका छन् । यसकाे बारेमा केही चर्चा गर्दैछु ।
स्थायी भनेकाे काेपिलाका दुबै पातमा अनुप्रासपछि अाउने शब्द वा शब्दसमूह हाे । यसले पातलाई र काेपिलालाई पनि सरस बनाउँछ, वाचन गर्दा तथा गाउँदा लय दिन्छ । यसमा स्वरकाे अवनति हुन्छ । जस्तै पातहरुमा उडेर र गुडेर अनुप्रास छन् भने तिनीहरुमा "जान्छन्" भन्ने स्थायी थपेपछि उडेर जान्छन् र गुडेर जान्छन् बन्दछन् । अब यी अनुप्रास र स्थायीका संयाेजनहरु वाचन गर्दा सरस सुनिन्छन् ।
जुनसुकै पातकाे अन्तमा स्थायी सजिलै थप्न सकिन्छ । लेख्दालेख्दै यसकाे अभ्यास हुन्छ । मालीहरुले बिनास्थायीकाे पातहरु लेखेर पछि स्थायी सजिलै थप्न सक्नुहुन्छ । त्यसैले स्थायीलाई काेपिला लेख्दा काँडाकाे रुपमा नलिइदिनुहुन म विनम्र अनुराेध गर्दछु । स्थायी काेपिलाकाे महत्वपूर्ण विशेषता हाे । यसलाई छाेड्याैँभने काेपिलाकाे माैलिकतामा ह्रास अाउँछ ।
अर्काे प्रश्न छ स्थायी केकस्ताे राख्न सकिन्छ भन्ने विषयमा । स्थायी शब्द वा शब्दहरुकाे समूह हाे, माथि नै भनिएकाे छ । शब्द भनेपछि एकाक्षरी निपात पनि हुनसक्छ । जस्तै नै, पाे, त, ..... यिनीहरुलाई पनि स्थायीकाे रुपमा प्रयाेग गर्दा काेपिलामा रस बढ्छ । धेरै अक्षरका पनि हुनसक्छन् । यसलाई मालीकाे रुचि र काेपिलाकाे भावअनुसार प्रयाेग गर्ने हाे, जबर्जस्ती थाेपरेकाे स्थायी सुहाउँदैन । त्यसैले स्थायी यति नै अक्षरकाे हुनुपर्छ भनेर सीमित गर्नु ठिक हुँदैन ।
शब्दसमूहमा कुन अनुप्रास हाे र कुन स्थायी हाे र कुन हैन भन्ने विषयमा जाअाैँ । वर्णाननुप्रास र स्वरानुप्रास गरी दुई किसिमका अनुप्रास हुन्छन् । वर्णानुप्रासमा व्यञ्जन र स्वर दुबै लयमा हुन्छन् । जस्तै- गरेर, परेर, भरेर .....अादि वर्णानुप्रास हुन् । यहाँ "अरेर" साझा भएर अनुप्रास बनेकाे छ । स्वरानुप्रास भनेकाे अन्तिम स्वरमात्र साझा हुने अनुप्रास हाे । जस्तै मकै, अझै, कसै ..... अादि स्वरानुप्रास हुन् । यहाँ "ऐ" स्वर मात्र साझा छ । सकेसम्म काेपिला लेख्दा वर्णानुप्रास नै राख्नुपर्छ किनभने यसमा मिठाे लय हुन्छ । तर स्वरानुप्रास बर्जित छैन ।
स्थायी भनेकाे त्यस्ताे शब्द वा शब्द समूह हाे जसलाई छुट्टै लेख्न सकिन्छ । तर कतिपय शब्दहरु व्याकरणका नियमअनुसार अघिल्लाे शब्दमा जाेडिने हुन्छन् । कतिपय शब्दहरु समास भएर जाेडिने हुन्छन् । विभक्ति लागेका शब्दहरुमा विभक्तिलाई पनि स्थायीकाे रुपमा लिनसकिन्छ । जस्तै पानामा र खानामा भन्ने शब्दहरुमा पाना र खानालाई अनुप्रास मानेर "मा" लाई विभक्तिलाई स्थायी मान्न सकिन्छ । मरिरहेछ र झरिरहेछ भन्ने शब्दमा मरि र झरि अनुप्रास हुन्, रहेछ स्थायी हाे । किनभने झरिरहेछ भन्ने शब्द झरि + रहेछ भन्ने शब्द मिलेर बनेकाे हाे । रहेछ भन्ने शब्द छुट्टै लेख्दा पनि त्यसकाे अर्थ अाउँछ । घामपानी र दामपानी भन्ने शब्दहरुमा घाम र दाम अनुप्रास हुन् र पानी स्थायी हाे । यी शब्दहरु समास भएर बनेकाहुन् । यहाँ पानीकाे छुट्टै अर्थ हुन्छ । यसरी स्थायी त्याे शब्द हाे जुन छुट्टै लेख्दा पनि अर्थ हुन्छ । तर अति छाेटा स्थायीहरु कमै प्रयाेग गर्नु राम्राे हुन्छ ।
जसरी टाेपी शिरमा लगाइन्छ त्यसरी नै स्थायी पातकाे अन्तमा नै राख्ने हाे ।अन्यत्र राखेकाे स्थायीले काेपिलाकाे शाेभा बढाउँदैन ।
स्थायी छुटेका काेपिला छन् भने पनि पछि सुहाउँदाे स्थायी थपेर पूर्ण काेपिला बनाउन सकिन्छ । याे उदाहरण हेराैँ ।
मानाैँ मैले यस्ताे काेपिला लेखेँ -
याे कस्ताे कर्म
पापै हुन्छ धर्म गर्दा पनि
काे बुझ्ला मर्म ।
यसमा धर्म र मर्म अनुप्रास हुन् । त्यसपछि स्थायी छैन । तर यसलाई सजिलै सुधार्न सकिन्छ ।
याे कस्ताे कर्म मेराे
पापै हुन्छ धर्म गर्दा पनि
काे बुझ्ला मर्म मेराे ।
यहाँ दुबै पातमा "मेराे" भन्ने शब्द स्थायीकाे रुपमा थपिएकाे छ । पछिल्लाे काेपिला अघिल्लाेभन्दा सरस पनि छ र भढी भावुक पनि छ ।
यसाेगर्दा कहिलेकाहीँ पातभन्दा मुना छाेटाे हुनसक्छ । त्यस्ताे अवस्थामा मुनामा पनि सुहाउँदाे शब्द वा शब्दहरु थप्न सकिन्छ ।
*काेपिलाका सम्भाव्य दाेषहरु:
झुक्किएर वा नजानेर कहिलेकाहीँ काेपिलामा केही दाेषहरु देखिन्छन् । ती दाेषहरुलाई चिन्दा दाेषमुक्त काेपिला लेख्न सकिन्छ।
१. गणना दाेष: पातहरुमा अक्षर बराबर बनाउनका लागि अक्षर गणना गर्दा अक्षरकाे प्रकृति वा स्थिति नबुझेर वा बिर्सिएर सही गणना नहुने र पातमा अक्षर फरक परी काेपिलाकाे संरचना बिग्रिने दाेषलाई गणना दाेष भनिन्छ ।सामान्य बाेलीचालीमा शब्दकाे उच्चारण गर्दा सिङ्गो उच्चारण हुने अक्षरलाई मात्र गन्नुपर्छ । जस्तै "स्वागत" मा "स्वा" र "गत्" -२ अक्षर, "भवन" मा "भ" र "वन्" -२ अक्षर । लेखाइका अाधारमा नभई वाचन वा बाेलाइकाे अाधारमा अक्षर गणना गर्नुपर्छ।
२. अनुप्रास (तुक) दाेष: पातहरुमा अनुप्रास नमिलेर वा झुक्किएर वा अनुप्रास नै नराखेर काेपिला लेख्दा पनि काेपिला बन्दैन र त्यस्ताे दाेषलाई अनुप्रास दाेष भनिन्छ । जस्तै हरामी र बिरामी अनुप्रास हैनन्, झट्ट हेर्दा याे अनुप्रासजस्ताे लाग्छ । चढेर र बढेर, जानू र खानु, कचिंगल र मथिंगल, लुकाएर र सुकाएर ... यस्तामात्र अनुप्रास हुन्।
३. स्थायी दाेष : अनुप्रासभन्दा पछाडि दुबै पातहरुकाे अन्तमा समान शब्दा वा शब्द समूह स्थायीकाे रुपमा छैनन् भने पनि काेपिला बन्दैन । त्यसलाई स्थायी दाेष भनिन्छ । जस्तै पातहरु गयाे र भयाे मा टुङ्गिएकाछन् भने त्याे काेपिला हुँदैन । किनभने त्यहाँ स्थायी छैन । पातहरु अाएकाे हैन र धाएकाे हैन मा टुङ्गिएकाछन् भने काेपिला हाे । यहाँ "अाएकाे" र "धाएकाे" अनुप्रासपछि "हैन" स्थायी छ।
४. अाकार दाेष : काेपिलामा पातहरुभन्दा मुना लामाे हुनुपर्छ । अथवा पातमा भन्दा मुनामा अक्षर बढी हुनुपर्छ । तर ५ अक्षरभन्दा बढी हुनुहुँदैन । यदि मुना छाेटाे भएमा, पात ३ अक्षरभन्दा छाेटाे वा १५ अक्षरभन्दा लामाे भएमा र मुना ४ अक्षरभन्दा छाेटाे वा १८ अक्षरभन्दा लामाे भएमा अाकार दाेष मानिन्छ ।
५. असंगति दाेष : पातकाे अन्तिम स्वर र मुनाकाे अन्तिम स्वर फरक हुनुपर्छ अथवा यी स्वरहरुमा संगति हुनुहुँदैन । यदि उही स्वर अायाेभने त्यसलाई असंगति दाेष भनिन्छ । जस्तै पात "भयाे" मा टुङ्गिएकाे छ भने मुना "ठूलाे" मा टुङ्गिनु स्वर असंगति दाेष हाे । यहाँ दुबैमा एउटै स्वर "अाे" अायाे।
६. घनिष्टता दाेष: प्रत्येक पात मुनासँग कुनै न कुनै दृष्टिकोणबाट घनिष्ट रुपले सम्बन्धित हुनुपर्छ । पात र मुनाकाे भाव र अर्थमा कुनै मेल छैन भने त्यसलाई घनिष्टता दाेष भनिन्छ । जस्तै याे हेराैँ-
वनमा चरी करायाे
लुटकाे धन फुपूकाे श्राद्ध
घरमा खरी हरायाे
यसमा अरु कुनै दाेष छैन । तर घनिष्टता दाेष छ । मुनासँग पातहरु कुनै हिसाबले पनि सम्बन्धित छैनन् । यस्ताे काेपिला लेखेर अर्थ छैन ।
७. मीतव्ययी दाेष : काेपिला लेख्दा अनावश्यक शब्दहरु राख्नुहुँदैन । पातहरु र मुनामा उही शब्दहरु दाेहाेर्याउनुहुँदैन । अथवा शब्दकाे मीतव्ययीता अपनाउनुपर्छ । यदि त्यसरी शब्दहरु दाेहाेरिएका छन् भने वा नचाहिने शब्द पनि राखिएकाे छभने त्यसलाई मीतव्ययी दाेष भनिन्छ । जस्तै याे हेराैँ-
पानी सुकेपछि पानी हुँदैन
याे पानीकाे कुरा पानीजस्तै भयाे
पानी पानी भन्ने बानी हुँदैन
यसमा अरु केही दाेष छैन तर यहाँ पानी शब्द ६ ठाउँमा अाएकाे छ । यहाँ शब्दकाे मीतव्यीता भएन ।
याे पनि हेराैँ -
मेरेकाे हाे ऊ मरेपछि सास खुस्किएर
अब छैन ऊ यस लाेकमा भेट्दैन कसैले खाेज्दा
सायद मर्याे हाेला ऊ बाँच्ने अाश खुस्किएर
पढ्दा मिठै लाग्छ याे । अरु दाेष पनि छैन । तर यसमा अनावश्यक रुपमा धेरै शब्दहरु थुपारिएकाछन्।
८. रुप दाेष : काेपिलाका दुईवटा पातहरुमध्ये जुनसुकै पातलाई पनि मुनाभन्दा अगाडि र पछाडि राख्न सकिन्छ । पातकाे स्थानान्तरणले काेपिलाकाे रुपमा परिवर्तन ल्याउँदैन जसरी अनुहारमा दाहिने अाँखा देब्रेतिर र देब्रे अाँखा दाहिनेतिर राख्दा पनि अनुहारमा परिवर्तन अाउँदैन । यदि पातहरु स्थानान्तरण गर्दा काेपिलाकाे भाव परिवर्तन भयाे वा सुहाएन भने त्यसलाई रुप दाेष भनिन्छ । जस्तै याे हेराैँ -
मुसलधारे पानी पर्याे
अाेढाउ थिएन केही साथमा
अनि भिज्ने बानी पर्याे
याे मिलेकै काेपिलाजस्ताे लाग्छ । यसमा पात स्थानान्तरण गरेर हेराैँ -
अनि भिज्ने बानी पर्याे
अाेढाउ थिएन केही साथमा
मुसलधारे पानी पर्याे
याे कस्ताे कस्ताे नमिलेकाेजस्ताे भयाे किनभने भने याे काेपिलामा रुप दाेष छ।
Comments